काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलो पर्सेल, यहाँ पुग्नका लागि बाटो त छ तर ठाउँठाउँमा भेटिने खाडल, उकालीओरोली, कच्ची सडकका कारण तीव्र गतिमा गन्तव्यमा पुग्न जोकोहीलाई मुस्किल हुन्छ ।
वडा कार्यालयका अनुसार ठूलो पर्सेलको जनसङ्ख्या ४५ सय ७७ छ । वारि डाँडा र पारि डाँडामा विभाजित बिभिन्न गाउँमध्ये ‘कामी गाउँ’ मा करिब ३५ घरधुरीका नागरिक बस्छन् ।
यो बस्तीका अधिकांश महिला घुँडा दुख्ने समस्या पाल्न बाध्य छन् । स्थानीय एक महिला पन्चमाया बिकले पृथ्वीका कुनै पनि मानिसलाई नभएको समस्या आफूलाई आइलागेको बताउनुभयो ।
‘घुँडा दुख्ने समस्या मलाई छ । घरमा १८ वर्षको छोरी छ । मानसिक रुपमा पनि बिरामी भएको छोरीलाई पायल्स तथा पिसाब चुहिने समस्या वर्षौँदेखि छ । उपचारका लागि सकैलाई भन्न पनि सकेको छैन । मेरो दुख कसैले बुझ्दैन ।’ पन्चमायाले भन्नुभयो ।
दलित समुदायका नागरिकको बाहुल्यता रहेको ‘कामी गाउँ’ लाई आर्थिक, शैक्षिक लगायतका पूर्वाधारले राम्रोसँग छुन सकेको छैन ।
स्वाथ्यमा पटकपटक आइरहने समस्याका कारण जसोतसो दुख काट्नुपरेको अर्का स्थानीयबासी विष्णुमाया विक बताउनुहुन्छ ।
तीन वर्षदेखि घुँडा दुख्ने समस्या भएको सुनाउँदै एक्सरे गर्दा घुँडाको हड्डी खिइएको भनेर ६/७ हजार रुपैयाँको औषधि दिइएको तर निको नभएको विष्णुमायाको भनाइ छ ।
४ वर्षअघि मुलुकभरमा जस्तै यहाँका बासिन्दाले पनि भोट हालेर जनप्रतिनिधि चुने तर उनीहरूले पनि आफ्ना समस्या नबुझेको यहाँका नागरिक गुनासो गर्छन् ।
आफ्नो श्रीमतीलाई पनि घुँडा दुख्ने समस्या भएको तर उपचारका लागि धेरै ठाउँमा गए पनि के भएको भन्ने बारेमा जानकारी पाउन नसकेको स्थानीय यादव पाण्डेले बताउनुभयो ।
काभ्रेको सदरमुकाम धुलीखेलबाट करिब ३९ किलोमिटरको दुरीमा रहेको ठूलो पर्सेलमा गाउँघरमा प्रायः वृद्धवृद्धाहरू मात्रै भेटिन्छन् ।
गाउँमै स्वास्थ्य शिविर चलाएर जाँच गरिदिनुपर्ने उनीहरूको माग छ ।
यो माग पूरा गर्न वडाले सक्ला ? जवाफमा वडाअध्यक्ष विकुलाल तामाङले भन्नुभयो, ‘आर्थिक वर्ष २०७८/७९ गोडा, घुँडा दुख्ने लगायतका बिभिन्न स्वास्थ्य समस्यालाई लक्षित गर्दै शिविर सञ्चालन गर्ने योजना छ । हामी चाँडै शिविर सञ्चालनको तयारीमा छौँ ।’
युवा तथा वयस्क अवस्थाका यहाँका नागरिक कोही विदेश गएका छन् भने कोही सहर छिरेका छन् ।
छोराछोरीलाई सुनाउँदा पीर मान्ने चिन्ताले ठूलो पर्सेलका वृद्धवृद्धाहरू भेटहुँदा मात्रै एकअर्काका समस्या सुन्नेसुनाउने गरेका छन् ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८, ०८:००