काठमाडौं ।
धनुषा मिथिला नगरपालिकाका रामप्रसाद महतोले जग्गा खरिद गर्नका लागि भन्दै २०७२ सालमा १ करोड रुपैयाँ सञ्जय साह रौनियार भन्ने साहुसँग ऋण लिनुभयो ।
ऋण एक वर्षमा चुक्ता गर्छु भन्दै उहाँले ३/३ महिनामा गरि ६५ लाख रुपैयाँ तिर्नुभयो । तर, ऋण चुक्ता गरेको कुनै प्रमाण पाउनुभएन । बाँकी पैसा तिर्नका लागि भन्दै उहाँले आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन खोज्नुभयो ।
तर, साहुले पैसा नै नतिरेको भन्दै महतोमाथि मुद्दा दायर ग¥यो । महतो भन्नुहुन्छ, ‘साहुले आफूमाथि मुद्दा गरेको जानकारी बैंकबाट नै थाहा भयो ।’
महेन्द्रनगरमा रहेको साढे एक करोडको जग्गा, ढल्केवरमा रहेको पुख्र्यौली जग्गा बैंकमा राखेर साहुको ऋण तिनुप¥यो भन्दै महतोले बैंकबाट ऋणको लागि प्रक्रिया थाल्नुभएको थियो ।
तर, साहुले ६५ लाख रुपैयाँ लिएर पैसा तिर्न बाँकी रहँदा नै उहाँमाथि मुद्दा गरेपछि ऋण रोक्का भयो । उहाँले थप्नुभयो, ‘अहिले घर खर्च चलाउन, छोराहरुको स्कुल फि तिर्नपनि अरुसँग ऋण लिनुपरेको छ ।’
आँखाबाट आँशु झार्दै महतोले सुनाउनुभयो, ‘सर्वश्व नै गुमिसक्यो अब के हुन्छ थाहा छैन । भएको एउटा पक्की घर छ, गाउँमा त्यो पनि कतै जाने पो हो की भन्ने चिन्ताले सताउन थालेको छ ।’
झन्डै २० वर्ष पहिले सर्लाहीका शान्ती देवी कुशवाहाका श्रीमानले अंशको मुद्दाका लागि जिल्लाकै रामबाबु रायसँग ३५ हजार रुपैयाँ ऋण लिनुभयो । ऋण लिएको पैसा तिर्नुपर्नेमा साहुले श्रीमानलाई रक्सी सेवन गराएर जवरजस्ती घरजग्गा आफ्नो श्रीमतिको नाममा गरायो ।
उहाँले भन्नुभयो, ‘श्रीमानपनि त्यहि वर्षदेखि वेपत्ता हुनुहुन्छ । साहुलाई ३५ हजारको ब्याजसहितको पैसा लिनुस् भन्दा साहुले ३ लाख माग्यो । मैले जति पैसा हुन्छ त्यति नै दिन्छु भनें ।’
शान्तिदेवीले अगाडी थप्नुभयो, ‘साहुलाई पैसा लिनुस् भन्दा घर खाली गर्न भन्दै दवाव दिन थाले । धम्क्याउन थाल्यो । घर खाली नगरे घरमा आगो लगाइदिन्छु भन्न थाल्यो । समाजका कसैले साथ दिएनन् । साना साना बच्चा थिए र म घर छोडेर बरहथवा आएँ ।’
अंशवण्डा भएपछि आफ्नो नाममा परेको भागको ठेकेदारी देवरले गर्ने गरेका र त्यो पैसा पनि सबै साहुले नै लिने गरेको उहाँले सुनाउनुभयो ।
सर्लाहीका लिला पण्डितका श्रीमानले छोरा बिरामी भएपछि रामबाबु राय यादवसँग नै १२ हजार रुपैयाँ सापटी लिनुभएको थियो । कति सालमा हो त्यो याद छैन तर, माओवादी काल थियो त्यति बेला त्यति स्मरण छ ।
छोरै बेचिदियो
१२ हजारको ७२ हजारको कागजमा सहि छाप साहुले गरायो । पैसा नतिरेको भन्दै साहुले मुद्दा ग¥यो । मुद्दाको तारिख लिन सदरमुकाम गएको बेला साहुले ९ वर्ष र १४ वर्षका दुई छोरालाई आफूहरु घरमा नभएको बेला साहुले अपहरण गरेर लग्यो ।
लिला भन्नुहुन्छ, ‘मलङ्गवाबाट घर फर्किदा छोराहरु थिएनन् । हतास भएर हामी खोज्न थाल्यौं । गाउँकै एक जनाले साहुले तेरो छोराहरु लिएर गयो भन्यो ।’
उहाँले थप्नुभयो ‘दुवै छोरालाई साहुले भारतमा लगेर बेच्यो । भारतकै एकजनाले उद्दार गरेर दुवैजनालाई ४ वर्षपछि घर फर्काइदिए ।’ ४ वर्षपछि छोराहरु घर फर्किदा उहाँहरु खुशी हुनुभयो तर त्यो खुशी लामो समय टिक्न सकेन ।
कुरा गर्दैगर्दा गहभरी भएका आँशु लिलाका आँखाबाट खस्न थाले ।
आँशुको थोपा झार्दै उहाँले भन्नुभयो, ‘साहुले गाउँको मान्छेलाई भनेर माइलो छोरालाई कुटपिट गर्दै बलात्कारको मुद्दामा जेल पठायो । श्रीमान र १५ वर्षकी छोरीको पनि त्यहि पीरले मृत्यु भयो । ११ वर्षको जेल सजायमा ९ वर्ष वित्यो अब अझै २ वर्ष बाँकी छ ।’
अझै पनि मुद्दाको तारिख खेपिरहनुभएका लिलाले काठमाडौं आउँदा मंगलबार अदालतको तारिख थियो जान पाइएन भनेर सुनाउँदै भन्नुभयो, ‘मुद्दाको तारिख थियो जान पाइएन अब घर जाँदा जानुपर्छ । के हुन्छ ठेगान छैन ।’
लिलाको दुःख त्यतिमा मात्रै रोकिदैन । साहुको पैसा तिर्नका लागि भनेर ९ कट्ठाको घडेरी र दुईतले काठको घर, पुख्र्यौली सम्पत्ति रहेको ४ कट्ठा पनि साहुले आफ्नो नाममा नामसारी गराइसकेको पनि उहाँले सुनाउनुभयो ।
अपहरण गर्दै घरजग्गा नामसारी
दुई जना साहुबाट सर्लाही सहित महोत्तरी, धनुषा, सिरहा र रौतहटका झन्डै ५ हजार मानिस पीडित छन् । घर घडेरी साहुले आफ्नो नाममा नामसारी गराइसकेका छन् । ऋणको ब्याज र साँवा गरेर करोडौं रकम पनि असुली सकेका छन् । ऋण लिएकै कारण सर्लाहीकै राम बिहारीको श्रीमतिसँग सम्बन्ध विच्छेद भयो ।
उहाँले भक्तपुरमा जग्गा लिनका लागि रामबाबुसँग ऋण लिन खोज्दा १५ कट्ठा जग्गा दृष्टबन्धक राखेर पैसा लिनुभयो । भक्तपुरको जग्गापनि साहुले आफ्नो श्रीमतिको नाममा गरायो । भक्तपुरको जग्गा खरिद गर्नका लागि साहुसँग ३४ लाख रुपैयाँ लिनुभयो । पछि साहुले ४५ लाख तिर्न बाँकी रहेको भन्यो ।
उहाँले श्रीमतिलाई र घरका अन्य सदस्यलाई जानकारी नगराई भएको अर्को जग्गापनि दृष्टिबन्धक राखेर पैसा तिर्न खोज्नुभयो तर साहुले मानेन । उल्टै उहाँलाई २०७६ साल वैशाख २६ गते अपहरण गर्न लगायो ।
बिहारी भन्नुहुन्छ, ‘मुटुको बिरामी मलाई अपहरण गर्नेले मरणासन्न हुनेगरि पिट्यो । ३ दिनसम्म खानपनि दिएन । साहुको ३ करोड तिर्न भन्दै धम्की दिन थाल्यो ।’
‘३ दिनपछि मैले मेरो सबै घरजग्गा बेचेर भएपनि साहुको पैसा तिर्छु भनेर भनेपछि अपहरणकारीले मलाई छोड्यो ।’ उहाँले सुनाउनुभयो, ‘म हिँड्न बोल्न सक्ने अवस्थामा पनि थिइनँ । छोराले मलाई उपचार गरायो । साहुको नाममा भएभरका सबै घरजग्गा नामसारी गराइसकेको छ ।’
कुरा यतिमा मात्रै सकिएन । ‘भक्तपुरमा खरिद गरिएको जग्गा र अन्य जग्गा पनि गयो, श्रीमतिलाई गाउँकै मान्छेहरुले कुरा लगाए र सम्बन्ध विच्छेदको लागि उनले मुद्दा हालिन् र हामी अहिले छुटेको एक वर्ष भयो’ – उहाँले सुनाउनुभयो ।
साथ छुट्यो– परिवार टुट्यो
अर्का साहु सञ्जय साह रौनियारबाट महोत्तरीका शत्रुधन महतोले जग्गा खरिदका लागि साढे एक करोड रुपैयाँ ऋण लिनुभयो । घरपरिवारलाई गाउँबाट शहरमा ल्याएर राम्रो जीवनशैली र शिक्षा दिक्षा दिने सपनाले खरिदको गरेको जग्गाकै कारण उहाँलाई घरबाट निकालिएको छ ।
जग्गा साहुले आफ्नै नाममा लेखायो । साहुको ऋण ३६ प्रतिशत ब्याजसहित ३ करोड रुपैयाँ तिरेर पनि उहाँसँग अहिले न परिवार छ, न त श्रीमतिको साथ, न छोराछोरी नै ।
भक्कानो छोड्दै महतोले सुनाउनुभयो, ‘हजुरबुबा, बुबा, आमा, श्रीमतिको नाममा भएका सम्पत्तिहरु बेचेर साहुको पैसा तिरें । उल्टै साहु र साहुका एकाउन्ट हेर्ने अशोक यादवले तँलाई मारेर फालिदिन्छु भन्दै धम्की दिन थालेका छन् । घरबाट निकालिएको छु । कहिले कहाँ कहिले कहाँ रात बिताउनुपर्छ । आफ्नो भन्ने पनि कोहि छैन । छोराछोरीलाई भेट्न पनि दिँदैनन् ।’
दुईजना साहुका कारण अहिले झन्डै ५ हजारभन्दा बढी पीडित बनेका छन् । घरपरिवारको भविष्य राम्रो होस् भनेर व्यापार गरेर जीविकोपार्जन गर्ने सपना बोकेकाहरुको अहिले सर्वश्व गुमेको छ ।
सर्लाही ईश्वरपुरका रविन्द्र कुशवाहाले पनि तिनै सञ्जय साह रौनियारसँग जग्गा खरिदका लागि एक करोड ऋण लिनुभयो । उहाँका अनुसार एक करोड ऋण लिएबापत उहाँलाई ३ करोडको कागजमा सहि छाप गरायो ।
पुख्र्यौली सम्पत्ति बेचेर ६ महिनापछि २५ लाख तिर्नुभयो । तर, तिरेको पैसाको कुनै प्रमाण छैन । चेकबाट रकम तिर्न खोज्दा चेक नलिने साहुको नीति नै थियो ।
बयलबासमा जग्गा लिएर छोराछोरीको राम्रो शिक्षा दिने सोचका साथ खरिद गरेको जग्गा साहुले आफ्नै नाममा नामसारी गरायो ।
एक वर्षमा तिर्ने भनेर कागज बनाइएकोमा ३ महिना बाँकी रहँदै साहुले तनाव दिन थाल्यो । साहूको तनाव सहन नसकेर उहाँले बयलबासको साढे ३ कट्ठा जग्गामध्ये ५ धुर बेच्नलाई ग्राहक खोज्नुभयो र बैना लिनुभयो ।
उहाँले सुनाउनुभयो, ‘५० हजार बैना लिएकोमा फेरि ३६ हजार तिरें । जग्गा खरिद गर्नेले मलाई भन्यो तपाईंले बेच्न खोजेको जग्गामात्रै होइन साहुले साढे ३ कट्ठा नै बेचिसक्यो मलाई मेरो पैसा फिर्ता गर्नुस् । यो सुनेर म आकाशबाट खसेझै भएँ । उल्टै मैले साढे ३४ कट्ठा घडेरी पनि साहूको नाममा गर्नुपरेको थियो ।’
रविन्द्रले अगाडी भन्नुभयो, ‘२०६९ सालको घटनाको तनावका कारण हजुरबुबा बित्नुभयो । आफूले अर्जेको सम्पत्ति नातिले जोगाउला सोच्नुभएको थियो तर मैले झन् सबै गुमाएँ । त्यहि पीरले हजुरबुबा बित्नुभयो । ’
ट्याक्टर खरिद गर्दापनि साहुले आफ्नै नाममा गर्ने, जग्गा खरिद गर्दापनि आफ्नै नाममा नामसारी गराउने, ऋण दिँदा पनि हजारको लाख र लाखको करोड गरेर कागज बनाउने रामबाबु राय यादव र सञ्जय साह रौनियारले सयौंको घरबार उठिबास गराएका छन् ।
कतिको घरपरिवारको साथ छुटेको छ भने कति त ज्यान जोगाउँदै जिल्लाबाट भागेर अन्यत्र बसेका छन् ।
गुनासो लिएर काठमाडौं आएका पीडितहरु साहुले थाहा पाइसकेको भन्दै अब के गरि घर फर्कने ? भन्ने चिन्तामा छन् ।
आफूमाथि अन्याय भएको कुरा प्रहरीमा उजुरी दिन जाँदापनि लेनदेनको विषय नहेर्ने, अपहरणको प्रमाण नभएको भन्दै उल्टै केही गर्न नसक्ने भन्दै प्रहरीले फर्काएका उनीहरुको गुनासो छ ।
‘अब जे होला देखाजायगा’ भन्दै आँट गरेर काठमाडौैं आएका पीडितहरुले गहमन्त्रालयमा छलफल गरेपछि दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने आश्वासन पाएका छन् ।
व्यापार व्यवसाय वा व्यक्तिगत कामका लागि साहुसँग ब्याजमा पैसा लिएर काम गर्नेहरुको सङ्ख्या कति छ ? यकिन तथ्याङ्क भेटिंदैन । मिटर ब्याजमा पैसा लगाउने साहुहरुको समुह भने देशभरी नै छ ।
न बस्ने व्यवस्था छ, न त न्याय नै पाइएको छ । ऋण लिएर जीविकोपार्जन गर्ने सपना खरानी भएको छ । सर्वश्व गुमेपछि न्याय खोज्दै मधेशका नागरिकको समुह केन्द्र सरकारलाई गुहार्दै राजधानीमा भौतारिरहेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६, १०:३६