काठमाडौँ । शिक्षकको अभाव पूर्ति गर्न र शिक्षाको गुणस्तर विकास गर्न भन्दै चितवनको खैरहनी नगरपालिकाले युवा स्वयंसेवक शिक्षक नियुक्ति गर्न सुरु गरेको छ ।
कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षबाट स्वयंसेवक शिक्षक नियुक्त गर्न सुरु गरेको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले सीआईएनसँग बताउनुभयो ।
नगरकार्यपालिकाको बैठकको निर्णय र कार्यविधि अनुसार नै शिक्षक नियुक्त गर्न थालिएकाले पारदर्शी तथा विवादरहित हुने पनि उहाँको दावी छ ।
‘प्राप्ताङ्कका आधारमा नै छनौटको प्रक्रिया र प्राथमिकता निर्धारण गरिने कार्यविधिमा उल्लेख छ ।’ शिक्षा अधिकारी पौड्यालेले भन्नुभयो, ‘सर्टिफिकेटमा लिएको नम्बर वा जीपीएलाई आधार मानिन्छ । व्यक्तिगत रूपमा कुनै मूल्याङ्कनको सम्भावना हुँदैन ।’
आधारभूत र माध्यमिक तहमा सूचीकृत भएका स्थानीय युवाले स्वयंसेवक शिक्षक हुन पाउनेछन् । स्थानीय बिस्मिता तामाङसँग नगरपालिकाले पहिलो पटक आधारभूत स्वयंसेवक शिक्षक नियुक्तिको सम्झौता गरेको छ ।
सीआईएनसँग कुराकानी गर्दै तामाङ्ले आफ्नो घरबाट करिब दस मिनेटको दुरीमा नै काम गर्ने अवसर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
‘एसएलसीसम्म मैले जुन विद्यालयमा पढेको थिएँ, त्यहीँ नै काम गर्ने अवसर पाएको छु ।’ उहाँले भन्नुभयो, ‘बाबा पनि शिक्षक नै हुनुहुन्छ । आफूले जानेको कुरा गाउँठाउँ मै सिकाउन पाएकोमा म खुसी छु ।’
स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दस हजार र माध्यमिक तह भएमा मासिक १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्नेछ । स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकता अनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने जनाइएको छ ।
कुनै शिक्षक बिरामी हुँदा, सुत्केरी विदामा बस्दा वा भइपरी आउने अवस्थामा शिक्षक नहुँदा विद्यालयको पठनपाठन प्रभावित नहोस् भन्नका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका लागि पहिो चरणमा आधारभूत तहमा १४ र माध्यमिक तहमा ६ जना युवाले स्वयंसेवक शिक्षक हुन पाउँ भनी सूचीकृत भएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।
स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले गरेको करार सम्झौता पत्रः
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६, ०७:३३