काठमाडौँ । नेपालबाट निर्यात हुने नेपाली कागजको माग बर्सेनि १० करोडका दरले बढ्दै गएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षको तथ्याङ्कले यस्तो देखाउँछ ।
विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २४ करोड १२ लाखभन्दा बढीको कागज निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ३४ करोड ३२ लाखभन्दा बढीको नेपाली कागज निर्यात भएकोमा गत वर्षमा झण्डै १८ करोड बढी अर्थात ५२ करोड ७२ लाखभन्दा बढीको हाते कागज निर्यात भएको हो ।
नेपाली व्यवसायीहरूले उत्पादन गरेको कागज जापान, जर्मनी, फ्रान्स, स्वीडेन, बेलायतसहित चाइनाको तीब्बत क्षेत्रमा बढी माग हुने गरेको छ ।
नेपाल हाते कागज सङ्घका अनुसार नेपालका हिमाली तथा पहाडी र तराइ क्षेत्रका गरी ५४ जिल्लामा हाते कागज उत्पादन हुन्छ ।
देशभर २ सय ३० भन्दा बढी कागज उद्योग भए पनि परम्परागत शैलीबाटै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको दोलखाका एक जना व्यवसायी हस्तबहादुर भुजेलले बताउनुभयो ।
नेपालमा उत्पादन हुने नेपाली कागजको गुणस्तरको जाँच तथा नियमन नहुँदा निर्यात प्रभावित हुने चिन्ता पनि रहेको हाते कागज सङ्घका सचिव भक्तबहादुर बस्नेतले बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडाँैका प्रमुख विष्णुप्रसाद भुसालले व्यवसायीलाई आवश्यक सीप, तालिमसँगै प्रविधि हस्तान्तरण गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
नेपाली कागजको उत्पादन बढ्दै गए पनि गुणस्तर कायमका लागि सरकारले अझैँ गर्नुपर्ने काम धेरै भएको व्यवसायीहरू बताउँछन् ।
आधुनिक प्रविधि भित्र्याउनका लागि पनि सरकारले आर्थिक तथा प्राविधिक रूपमा सहयोग गर्नुपर्ने अपेक्षा उनीहरूको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९, १२:०७