दार्चुला । महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदल टोली आज दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछ।
नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।
यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।
समितिका सदस्य हिजो दार्चुलाका लागि हिडे पनि डडेलधुरा बसेर आज त्यसतर्फ जाँदैछन् । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री बालकृष्ण खाँणले हिजोको राष्ट्रिय सभा बैठकलाईै जानकारी दिनुभयो ।
समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी वेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ ।
अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो ।
‘उनीहरूलाई प्रहरीले ल्याएको पनि होइन, अनुसन्धानमा सहयोग गर्न आएका हुन् ।’ डीएसपी भट्टले दावी गर्नुभयो । प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामी हिजो राति करिब पौने आठ बजेसम्म जिल्ला प्रहरी कार्यालयभित्रै रहेका थिए ।
ब्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी र वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले आफूहरूको रोहबरमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट बाहिर ल्याउन राति अवेरसम्म प्रयास गर्नुभएको थियो ।
जनप्रतिनिधि तथा पत्रकारहरूलाई प्रहरीले प्रत्यक्षदर्शीहरूलाई भेट्नसमेत दिएको थिएन । बेलुका करिब साढे ७ बजेतिर भने जनप्रतिनिधि र पत्रकारहरुलाई प्रत्यक्षदर्शीहरूसँग भेटघाट गर्न दिएको थियो तर प्रतिक्रिया लिन भने दिएन ।
तर डीएसपी मनोहर प्रसाद भट्टले भने उनीहरू आफन्त कहाँ बस्ने र नराम्रो कुनै पनि व्यहार नै नगरिएको बताउनुभयो । प्रहरी स्रोतले भने प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जना जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाएको छ ।
प्रत्यक्षदर्शीहरुले नयाँ नेपाल एफएमसँगको कुराकानीमा एसएसबीका दुई जवानले तुइन काट्दा जयसिंह महाकाली नदीमा बेपत्ता भएको बताएका छन् । घटना घट्ने बित्तिक्कै एसएसबीका जवानहरु खोजी कार्यमा सहयोग गर्नुको सट्टा भागेको पनि उनीहरूको भनाइ छ ।
अडियो सुन्नुहोस्ः
यो पनि पढ्नुहोस्ः
एसएसबीले तुइन चुँडाल्दा वेपत्ता व्यक्ति अझैँ भेटिएनन्
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८, ०७:२७