काठमाडौं ।
साहुसँग लिएको ऋण ब्याज सावाँ गर्दा गर्दै घर घडेरी सबै गुमाइसकेका सर्लाही मिटर ब्याज पीडितहरुलाई न्याय पाउने आशा पलाएको छ । सङ्घीय गृह मन्त्रालयमा छलफलपछि घर फर्केका पीडितहरु ५ दिनपछि जाहेरी दिन थालेका छन् ।
सर्लाही बागमति नगरपालिका ७ का छविलाल साहले २०६४ सालमा सावाँ ४ लाख ऋण लिँदा १६ कट्ठा जग्गा साहुुकै नाममा दृष्टिबन्धक गर्नुुभयो । साढे ८ लाख रुपैयाँ पनि तिर्नुभयो । आफू पिडीत भएको गुनासो सहित काठमाडौं आउनुुभएका साहले प्रहरीमा जोहरी दिनका लागि प्रमाण जुटाई रहनु भएको छ ।
‘बहिनीलाई पनि रामबाबु रायसँग नै जग्गा दृष्टिबन्धक राखेर ऋण दिलाई दिनुभयो । त्योपनि डुब्यो । अब के गर्ने कहाँ जाने ठेगान छैन’ साह भन्नुहुन्छ, ‘बल्ल जाहेरी दिनका लागि वकिल पाइयो । जाहेरी दिने तयारी हुँदैछ ।’
साहुकारबाट ऋण लिंदा चर्को मिटर ब्याजबाट ठगिएका शान्तिदेवी सहितका पीडितहरू २२ पुसमा न्यायका लागि सर्लाहीबाट काठमाडौं आएका थिए । सरकारले कारवाहीको आश्वासन दिएपछि घर फर्किएका छन् ।
काठमाडौंबाट फर्कनासाथ जाहेरीका लागि जिल्लामा वकिल खोज्दै दिन बित्थ्यो । कसैलेपनि जाहेरी लेख्न मान्नु हुन्नथ्यो । तर, ५ दिनपछि बल्ल बल्ल वकिल जोहरी लेख्न तयार भएका छन् । दिनमा ५–६ जनाको जाहेरी लेख्ने काम भइरहेको छ ।
दुई जना साहुुबाट गरेर प्रदेश २ को लगभग ५ जिल्लाका ५ हजार नागरिक ठगीमा परेका छन् । आफू ठगीमा परेको गुनासो लिएर काठमाडौं आएका पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयले आश्वासन दिएपछि घर फर्किएका थिए । वर्षौसम्म जाहेरी लिन नमानेको प्रहरी उजुरी लिन तयार भएपछि अहिले उनीहरुको अनुहारमा थोरै भएपनि चमक देखिएको छ ।
तीनै साहुबाट पीडित मध्येका एक लिला पण्डितले प्रहरीले मागेको कागजहरु सबै दिइसकेको र अब कारबाही हुन्छ की भन्ने आशा लागेको सुनाउनुभयो ।
पण्डितले सुनाउनुभयो, ‘छोरा झुठो बलात्कार मुद्दामा जेलमा छ । साहुले बयान दियो भने छुट्छ की भन्ने आशा छ । कागज सबै वकिललाई दिइ सकेको छु ।’
सर्लाही बरहथवाका निरगुन रायले पनि तीनै साहुसँग २ लाख ऋण लिनुभयो । ३४ विगाहा जग्गापनि दृष्टिबन्धक राख्नुभयो । त्यसमा साहुले १६ कट्ठा जग्गा बेच्यो तर, पैसा भने रायलाई दिएन ।
प्रहरी कार्यालय सर्लाहीले अनुसन्धानको काम सुरु गरिसकेको छ । प्रहरी उपरिक्षक विश्वमणि पोखरेलका अनुसार ठगी मुद्दामा कारवाही चलाउने तयारी छ ।
त्यही गुनासो लिएर काठमाडौं आउनुभएका राय यतिबेला साहुले दिएको पैसा तिरेको हस्तलिखित कागज र साहुको नाममा जग्गा लेखेको कागज लिएर वकिलसँग जाहेरी लेखाएर प्रहरीकोमा जाने तयारीमा हुनुहुन्छ ।
पुुष २३ मा फर्केका पीडितहरुले जाने वितिक्कै जाहेरी दिने वकिल पाउन सकेका थिएनन् । साहुहरु जिल्लाकै भएकाले उनीहरुको डरका कारण जोहरी लेखिदिन वकिल तयार भएनन् । तर, महान्यायधिवक्ताको कार्यालयबाट निर्देशन जारी नै गरेपछि सहज भएको हो ।
वकिल तयार
पीडित रविन्द्र कुशवाहाका अनुसार काठमाडौंबाट फर्कनासाथ जाहेरीका लागि जिल्लामा वकिल खोज्दै दिन बित्थ्यो । कसैलेपनि जाहेरी लेख्न मान्नु हुन्नथ्यो । तर, ५ दिनपछि बल्ल बल्ल वकिल जोहरी लेख्न तयार भएका छन् । दिनमा ५–६ जनाको जाहेरी लेख्ने काम भइरहेको छ ।
सुरुमा जोहरी लेख्ने वकिल नै नभेट्दा निराश बनेका पीडितहरु वकिलले जाहेरी लेख्न थालेपछि खुशी भएका छन् । अब न्याय पाउँछु भन्ने आशा उनीहरुमा पलाएको छ ।
प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले जाहेरी लेख्न र निःशुल्क मुद्दा लड्न, बहस गर्न, प्रतिवादी रक्षा गर्न भन्दै एक जना वकिललाई खटाइएको बताउनुभयो ।
महान्यायधिवक्ता झाका अनुसार पीडितले सहज रुपले न्याय पाउन् भनेर महान्यायधिवक्ताको हैसियतमा उहाँले निर्देशन दिनुभएको हो ।
‘मैले सरकारी वकिललाई निर्देशन दिइसकेको छु’ सीआईएनसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘ कसैलाई समस्या परे उमेश साह वकिल हुनुहुन्छ वहाँलाई सम्पर्क गर्नु भनेर स्थानीय रेडियो मार्फत सूचना पनि जारी गरिएको छ ।’
मनमा डर के-को भर ?
प्रमाण अभाव र जोहरी नभएकै कारण कारबाहीमा समस्या भएको बताउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धानको काम सुरु गरिसकेको छ । प्रहरी उपरिक्षक विश्वमणि पोखरेलका अनुसार ठगी मुद्दामा कारवाही चलाउने तयारी छ ।
प्रहरी उपरिक्षक पोखरेलले राम बाबु राय पक्राउ परिसकेको जानकारी दिँदै तिनको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले फरार रहेका अर्का साहु सञ्जय साह रौनियारको भने खोज तलास जारी रहेको पनि जानकारी दिनुभयो ।
रामबाबु राय र सञ्जय साह रौनियार दुुई जना साहुबाट सर्लाही, सिरहा, धनुुषा, महोत्तरी र रौतहटका झन्डै ५ हजार नागरिकको विचल्ली भएको छ । जसमा रामबाबु रायलाई प्रहरीले पक्राउ नै गरिसकेको छ । तर, उनीहरु शक्तिसाली भएका कारण प्रहरी न्यायालयलाई समेत प्रभाव पार्लान् की भन्ने डर पीडितले बोकिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६, १६:००